जुवातासमा कतिसम्म पैसा हार्नुभएको छ ?
सीताराम कट्टेल, हास्यकलाकार
मलाई जुवातास खेल्न खासै मन लाग्दैन । तर, मलाई तासको चाहिँ कुनैकुनै खेल खेल्न आउँछ । मैले जुटपत्तीबाट तास खेल्न सिकेको हुँ । त्यसपछि तीनपत्ती खेल्न सिकेँ अनि धेरैपछि म्यारिज पनि खेल्न थालेँ । मलाई धेरै त आउँदैन । खेले पनि थोरै पैसा मात्र खेल्छु । केही वर्ष पहिला लाजिम्पाटस्थित मिडिया हबको कार्यालयमा ५४ मिनेट म्यारिज खेल्दा १२ हजार रुपैयाँ हारेँ । त्यसपछि म त्यहाँबाट रन्थनिएर घर जान लाग्दा पार्किङमा राखेको आफ्नो स्कुटर नै नचिन्ने भएँ छु । त्यसयता मैले तास खेलेको छैन ।
पशुपति शर्मा, गायक
म तासचाहिँ खेल्छु । जिते पनि हारे पनि आधा घन्टाभन्दा खेल्नै सक्दिनँ । मलाई धेरैबेर तास खेल्यो भने निद्रा लाग्छ । आजभन्दा चार–पाँच वर्ष पहिला तिहारको वेलामा तीनपत्ती खेल्दा १० हजार हारेको थिएँ । त्यसपछि मैले खासै तास खेलेको छैन । तर, यसपालिचाहिँ भाइटीकाको दिन खेल्ने विचार छ ।
पशुपति मुरारका, उद्यमी
तिहारको वेलामा कहिलेकाहीँ साथीभाइसँग तास खेल्छु । तर, पैसा कमाउने उद्देश्यले चाहिँ कहिल्यै तास खेल्दिनँ । आजभन्दा तीन–चार वर्ष पहिला तिहारमै तास खेल्दा १२–१३ हजार रुपैयाँ हारेको थिएँ । तर, गत वर्षको तिहारमा चाहिँ मैले १२ हजार जितेको थिएँ ।
रवीन्द्र अधिकारी, नेता, एमाले
मलाई अलिअलि तीनपत्ती, जुटपत्ती, कलब्रेक, दहरमाराजस्ता खेल खेल्न आउँछ । तर, तास खेल्न भनेर आधा घन्टा पनि बस्न सक्दिनँ । तिहारकै वेलामा तास नखेलेको पनि धेरै भयो । मलाई खासै तास खेल्न मन पर्दैन । बरु म फुर्सद पाएँ भने किताब पढेर समय बिताउँछु । ०६२÷०६३ सालतिरको तिहारमा साथीभाइसँग एकछिन तास खेल्दा एक हजार रुपैयाँ हारेको थिएँ ।
रामहरि खतिवडा, नेता, कांग्रेस
म जुवातास खासै खेल्दिनँ । तर, कृष्णप्रसाद भट्टराई रहुञ्जेल मलाई दसैँतिहार खर्च भनेर पाँच हजार रुपैयाँ दिनुहुन्थ्यो । त्यसमा पनि दुई हजार आफ्नो जिल्ला जान र आउन खर्च हुन्थ्यो । एक हजार आमाबुवालाई, एक हजारको कपडा र एक हजारचाहिँ जुवातास खेल्नु भनेर उहाँले नै छुट्याइदिनुहुन्थ्यो । म खासै जुवातास खेल्दिनथेँ । तर, अरूले खेलेको ठाउँमा च्याखेँचाहिँ थाप्थेँ । ०६८ सालको कुरा हो । तिहारको वेलामा गाउँमा जुवा खेलिरहेको ठाउँमा मैले च्याखेँ थापेँ । यसरी च्याँखे थाप्दा ३५ हजार रुपैयाँ हारेको छु । त्यसपछि मैले त्यो हेर्न पनि छाडेँ ।
सरोज खनाल, अभिनेता
म आफ्नो परिवारसँग तिहारमा तास खेल्छु । तर, बाहिरी मान्छेसँग खेल्दिनँ । हामीहरूमा पनि त्यस्तो ठूलो खेल हुँदैन । म प्रायः तासमा जित्छु । यसपालि दसैँमा दाजुहरूसँग तीन हजार रुपैयाँ जितेँ । तर, गत वर्षको तिहारमा दिदीको घर पोखरामा तास खेल्दा दुई हजार–पच्चीस सय हारेको थिएँ ।
सुभाष खकुरेल, क्रिकेटर
घरमा रहेको वेला कहिलेकाहीँ खेल्छु । म विशेषगरी साथीहरूसँग खेल्दा म्यारिज खेल्छु । घरमा परिवारसँग खेल्दा फलाँस र इन बिट विन टु भन्ने खेल खेल्छु । म तासमा खासै हार्दिनँ । धेरै ठूलो खेल खेलिँदैन । तिहारमा एक–दुई घन्टा खेलिन्छ । मैले पोहोर तिहारमा करिब दुई हजार जति हारेँ ।
आनन्द कार्की, गायक
म पहिलापहिला दसैँ–तिहारको समयमा भयंकर जुवातास खेल्थेँ । ०६३ सालको कुरा हो, मैले त्यो सालको तिहारमा जुवा खेल्दा ४० लाख रुपैयाँ हारेको थिएँ । त्यो पैसाले एउटा नयाँ गाडी किन्ने योजना थियो । तर, हारपछि गाडी किन्ने योजना तुहियो । त्यसयता मलाई जुवातास खेल्ने आँट नै आएको छैन । साथै, चाडबाडको नाममा जुवातास खेलेर पैसा कमाउने मनसाय बनाउनेहरूलाई जुवातास नखेल्न सुझाब दिन्छु ।
सुनील पोखरेल, रंगकर्मी
तिहारको समयमा कहिलेकाहीँ छोरा र श्रीमतीसँग तास खेल्छु । तर, जुवाडे होइन । म तासका धेरै गेम खेल्न जान्दछु । अहिले त छोराले नै जित्न थालिसक्यो । यसपालि दसैँमा आफ्ना विद्यार्थीसँग तास खेलेँ । तीन सय रुपैयाँ हारेँ ।
अमर न्यौपाने, साहित्यकार
मैले १८ वर्षको उमेरसम्म तासको खेल जुटपत्ती र सत्र भन्ने खेल जानेको थिएँ । त्यो वेलामा तिहारमा खुब तास खेल्थेँ । तर, त्यत्रो ठूलो खेल खेलिँदैन थियो । मेरो मिल्ने साथीचाहिँ तास खेल्दैनथ्यो । उसको संगतले गर्दा तास खेल्न छोडेँ । त्यसैले तास खेलेर त्यति धेरै पैसा हारेको छैन । उसवेला तिहारको समयमा जुटपत्ती खेल्दा त्यही पन्ध्र–बीस रुपैयाँ हारिन्थ्यो ।
जितु नेपाल, हास्यकलाकार
आजभन्दा एक–दुई वर्ष पहिला म तिहारको समयमा निकै जुवातास खेल्थेँ । तर, अहिले खासै खेल्दिनँ । आजभन्दा तीन वर्षअघि मैले तिहारमा जुवातासमा ५० हजार रुपैयाँ हारेको थिएँ ।

Comments
Post a Comment