प्रदेश ४ को मुख्यमन्त्री म नै बन्छु - पृथ्वीसुब्बा गुरुङ


नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् ।

सदरमुकाम बेंसीशहरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको जानकारी दिए ।

कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गरे ।

नेकपा एमाले लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको छ बताए ।

लोकतन्त्र रक्षाका लागि कांग्रेस - घर्ती

यसैबीच नेपाली कांग्रेसका नेता दिलबहादुर घर्तीले लोकतन्त्रको रक्षाका लागि अहिलेको निर्वाचन कांग्रेसले जित्नुपर्ने बताएका छन् ।

लोकतान्त्रिक पक्षधर उम्मेदवारले बेंसीशहरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकले चाहेको स्वतन्त्रता, समानता, देशको अखण्डता र सम्पन्नताका लागि कांग्रेस जिम्मेवार रहेको बताए ।

कार्यक्रममा प्रदेशसभा (क)का उम्मेदवार गर्जबहादुर गुरुङले सम्भावना भएर पनि विकास हुन नसकेको जिल्लामा आफू निर्वाचति भएपछि समग्र विकासले छलाङ मार्ने जिकिर गरे ।

Comments