साउदी अरवमा १७ वर्षदेखि बन्दी बनेर गोठालो काम गर्दै आएकी श्रीलङ्कन नागरिक केजी कुसुमावाथीको उद्धार भएको छ ।
साउदीमा घरेलु काम गरेकी उनलाई साउदी सरकारकै पहलमा उद्धार गरेर १७ वर्षको परिश्रमिक ८८ हजार ६ सय साउदी रियाल झण्डै २४ लाख ५० हजार रुपैयाँ दिलाइएको छ । उनलार्इ अहिले श्रीलङ्का फर्काइएको अरब न्युजमा उल्लेख छ ।
उनलाई रोजगारदाताले घर फर्कन नपाउने गरि सम्झौता गरेर काममा लगेका थिए । तर साउदीको नियम अनुसार सम्झौता सकिएपछि भने घर फर्काउनु पर्ने मान्यता छ ।
६ महिनाअघि परिवारले दिएको उजुरीको आधारमा साउदीकै पहलमा उनको खोजी भएको थियो । त्यसको ६ महिनापछि मात्रै उनलाई साउदीको दुर्गम गाउँ एटिफबाट जेद्दामा रहेको श्रीलङकन कन्सुलेटले उद्धार गरेको हो । रियाद ताइफ राजमार्गबाट ४० मिलोमिटर टाढा पर्ने यो गाउँमा उनी गोठालोको काम गरिरहेकी थिइन् ।
कुसुमावाथी चार वर्षको छोरा र दुई वर्षकी छोरी छाडेर २७ वर्षको उमेरमा रोजगारीका लागि साउदी पुगेकी थिइन् । उनले रोजगारदाताले हिंसा नगरेको बताएकी छन् ।
उनले मासिक चार सयका दरले ८ वर्षसम्म तलब पाएको तर त्यसपछि भने तलब नपाएको बताइन् । ३८ हजार ६ सय रियाल उनको साथमा नै भेटिएको थियो । बाँकी रहेको ५० हजार रियाल तलब रोजगारदाताले पछि तिरेको कन्सुलेटले जनाएको छ ।
श्रीलङकन मन्त्रीले साउदी सरकारलाई आफ्नो देशको नागरिकलाई परिश्रमिक सहित सकुशल फिर्ता पठाएकोमा धन्यवाद दिएका छन ।
Comments
Post a Comment