नेपालमा श्रीमती र एउटा नाबालिग छोरा लाई छोडेर मलेसिया पुगेका पुनको ५ महिना नपुग्दै मृत्यु


रुकुमको सानीभेरी गाउँपालिका-३ स्याँलाका दिनेश पुन ६ वर्ष अघि मेलेसिया पुगे । रोजगारीका लागि मलेसिया पुगेका पुन लामो समयपछि ५ महिना अघि मात्रै छुट्टी मनाउन घर आए ।
लामो समयपछि घरमा आएपछि उनको परिवारमा खुसी छायो । तर, परिवारमा यो खुसी धेरै लामो समय टिकेन ।

छुट्टी मनाउन घर आएका पुन फेरि मलेसिया नै फर्के । तर, अब उनी अाफै बासकमा फर्किदैछन् । छुट्टी मनाएर घरबाट मलेसिया पुगेका पुनको ५ महिना नपुग्दै गत सोमबार मृत्यु भएको छ ।
काम गर्दागर्दै अचानक कुर्सीबाट भुइँमा लडेर बेहोस भएका पुनको प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको उनका साथी रुकुमकै धनबहादुर विश्वकर्माले जानकारी दिए ।

पोस्टमार्टमको रिपोर्ट अनुसार पुनको मुटुमा समस्या आई हृदयघातका कारण मृत्यु भएको मेलेसियाको प्रहरीलाई उद्धृत गर्दै विश्वकर्माले जानकारी दिए ।
उनको शव नेपाल ल्याउने तयारी भइरहेको मृतकका छिमेकी बलु विश्वकर्माले जानकारी दिएका छन् । शव शुक्रबारसम्म नेपाल पुग्ने उनले वताए ।

मलेसियाको इपो पेराक राज्यमा स्थित मापा गोलफ कम्पनीमा कार्यरत पुन आइतबार राति १० बजेदेखि कम्पनीमा काम सुरु गरेका थिए । अघिल्लो दिन राति १० बजेदेखि काम सुरु गरेका पुनले सोमबार बिहान ७ बजे ब्रेक टाइममा खाना खाएका थिए ।
मृतक पुनको परिवारमा श्रीमती र एक नाबालक छोरा छन्

Comments