नेपाली कांग्रेसका नेतामाथि वडाप्रमुख सहितको टोलीद्वारा खुकुरी प्रहार, उपचारका लागी हेलिकप्टरबाट काठमाडौं लगियो

घरमा सुतीरहेका धुवाँकोट गाउँ कमिटीका सभापति एवं नेपाली कांग्रेसका नेता सन्तोष बस्ताकोटीलाई आफ्नै वडाका निर्वाचित वडा प्रमुखसहितको टोलीले खुकुरी प्रहार गरि सख्त घाईते तुल्याएका छन् । नीलकण्ठ नगरपालिक–१४ धुवाँकोट निवासी २६ वर्षीय बस्ताकोटीलाई वडाप्रमुख रोशन तामाङ्गसहितको ९ जनाको समूहले शुक्रबार बिहान पौने ६ बजे घरमै सुतेको बेला खुकुरी लगायतका हतियार प्रयोग गरी आक्रमण गरेको आरोप परिवारजनले लगाएका छन् ।


सख्त घाइते बस्ताकोटीको टाउकोको दायाँ भाग र दुवै खुट्टामा गहिरो घाउ लागेका छन् । घाइते बस्ताकोटीलाई हेलिकप्टरबाट उपचारका लागी वीर अस्पतालको ट्रमा सेन्टर पठाइएको नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रमेश धमलाले बताए ।

आक्रमणकारीहरुले बिहीबार साँझ देखि नै पिछा गर्दै आए पनि अन्य कार्यकर्ताहरु साथमा भएकोले आक्रमण नगरी घरमा एक्लै भएको मौका पारेर आक्रमण गरेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति देवी कोइरालाले बताए । आक्रमणमा संलग्न भनिएका निर्वाचित वडा प्रमुख रोशन तामाङ्गसहित नेत्र नेपाल, दिपेन्द्र वस्ती, कमल अधिकारी सहितको समूहलाई प्रहरीले खोजतलाश गरिरहेको छ ।

सोही वडा निवासी नेकपा एमालेका निर्वाचन क्षेत्रनं २ का प्रदेश १ का उम्मेदवार रामकुमार अधिकारीले प्रयोग गर्ने जिवन मगरको गाडी प्रयोग गरी आएका आक्रमणकारीहरुको प्रहरीले खोजतलास गरिरहेको छ । घटना बारे बुझ्न घटनास्थल नजिकै घर भएका प्रदेशसभाका उम्मेदवार रामकुमार अधिकारीसहितको एमाले सम्बद्ध पक्षलाई फोन सम्पर्क हुन सकेको छैन ।

प्रहरीले बिहीबार घरदैलो गर्न गएको बेला विद्यार्थीलाई बियरको बोत्तलले हानेर घाइते तुल्याएको आरोपमा जिल्ला स्थित युथ फोर्सका उपाध्यक्ष हप्पा भनिने सुर्यबहादुर तामाङ्गसहित सहित ५ जनालाई हिरासतमै राखेको छ ।

Comments