मुख्य योजनाकार बस्नेत कुनै समय कलंकी, बाफल र कालिमाटी क्षेत्रका टोले गुन्डा थिए । तर, प्रहरीकै संरक्षणमा उनको दादागिरी बढ्दै गएको जानकारहरु बताउछन् । स्थानीय व्यवसायीहरुलाई उनी धम्काउदै पैसा उठाउथे । पक्राउ परेपछि २/४ दिनमै छुट्थे । प्रहरी अधिकारीहरु नै उनलाई छुटाउन जान्थे ।
पछि उनको ध्यान ठेक्कापट्टातर्फ गयो । ठेकदारहरुसँग कमिसन खान थाले । त्यही क्रममा उनको सहकार्य पुराना गुन्डा नाइके कुमार घैंटेसँग हुन थाल्यो । घैंटेसँग मिलेर उनले देशका सबैजसो ठुला ठेक्काको कमिसन लिन थालेका थिए ।
२ वर्षअघि प्रहरी मुठभेडमा कुमार घैँटे मारिएपछि उनी प्रहरीसँग डराएर भागेका थिए । त्यसपछि उनको भेट बुटवलमा गुन्डागर्दी गरेर फरार भएका मनोज पुनसँग भयो । दुवै जना मिलेर गत वर्ष युवा संघका नेता दुर्गा तिवारीको हत्या गरी पैसा असुली सुरु गरे । तर, पैसामा कुरा नमिलेपछि बस्नेत छुट्टिएका थिए ।
पुन: आफुभन्दा जुनियर भएको र उमात्र हाइलाइट भएको उनलाई मन परेको थिएन । त्यसपछि बस्नेतले अर्का फरार गुन्डा लोप्साङ लामासँग मिलेर भुमिगत रुपमा छुट्टै समुह निर्माण गर्नेे योजना अघि बढाए । सोही योजनाअनुसार उनीहरुले ठुला ठेकदारहरुलाई इन्टरनेट कलमार्फत धम्काउन थाले । त्यही क्रममा गत चैतमा काभ्रेली समूहका गुन्डा दावा लामामाथि गोली हाने । धम्काउने र असुल्नेक्रम जारी नै थियो । प्रहरीसंगको बयानमा पक्राउ परेका बस्नेतले मुख्य योजनाकार मनोज पुनको भएको बताएका छन् ।
ग्ुण्डागर्दीकै क्रममा उनीहरु धम्काउन एक हाइप्रोफाइल व्यक्तिको खोजीमा थिए । जसमा लेनदेनको काममा जोडिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनसंग ठेक्कापट्टादेखि रकम समेत मागीरहेका थिए तर गौचनले त्यो मानिरहेका थिएनन् । जसका कारण गौचनको हत्या हुन पुग्यो ।
गौचन हत्यामा संलग्न फरार मध्येका अर्का मुख्य अभियुक्त गुण्डा नाइके मनोज पुन प्रहरीको खोजिसुचिमा छन् । विभिन्न हत्या अभियोगमा फरार रहेका मनोज पुन भारतमा लुकिछिपी बस्दै आएको भनिएपनि प्रहरीले यसबारे मुख खोलेको छैन । यो समूह देशमा रहेका संगठित अपराहिक समूहमध्ये सबैभन्दा ठुलो भएको र उनीहरुलाई छिट्टै आफुहरुले कानुनी दायरामा ल्याउने प्रहरीले बताएको छ ।
राजधानीकै सुरक्षा ब्यबस्थालाई खलबल्याउने गरि दिन दाहडै भएको सरदकुमार गौचनको हत्या पछि राजधानीको सुरक्षामा समेत चुनौती थपिएको छ । केही बर्ष अघि गुण्डा नाइकेहरुको इन्काउण्टर हुन थालेपछि गुण्डाराज थमथमिएको थियो । तर पछिल्लो समय बाह्य मुलुकमा लुकेर सेटिङमा गुण्डागर्दी गर्ने समूहहरु सलबलाउन थालेका छन् । त्यसमध्येमा पछिल्लो समय समिरमान बस्नेत, मनोज पुन र लोप्साङ लामाको समूह मुख्य रुपमा देखा पर्दै आएको छ ।
मुख्य अभियुक्त मध्येका समिरमान बस्नेत पक्राउ परेपनि पुन र लामाका हकमा प्रहरी अनुसन्धान चुनौतीपूर्ण नै छ । हाल पुन, लामा सहित अन्य फरार अभियुक्तहरु कहाँ के गरिरहेका छन् भन्ने बारेमा प्रहरीले चाँडै निष्कर्ष दिनु आवश्यक छ । र गौचनको हत्यामा संग्लनहरुलाई कानुनी कठघरामा उभ्याउँनु जरुरी छ ।

Comments
Post a Comment